काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका भित्रने तथा उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यहि असोज १७ गते देखि २० गते सम्म देशका अधिकांश स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, राष्ट्रिय विपद् जोखिम नियूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा राजमार्ग लगायतका जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षय जस्ता विपदजन्य घटनाहरू हुन सक्ने सम्भावना भएको भनी सूचना जारी गरिसकेको छ । यस्तो अवस्थामा जोखिमपूर्ण यात्रा नगर्न विभागले आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘अत्यावश्यक अबस्था बाहेक उक्त अवधिमा लामो तथा जोखिमपूर्ण यात्रा नगर्नु हुन साथै, उल्लेखित अवधि भर काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिर जिल्लाहरूबाट काठमाडौं प्रवेश गर्ने यात्रु महानुभावहरू र यातायात व्यवसायीहरूले अत्यावश्यक अवस्थामा बाहेक रातको समयमा जोखिमपूर्ण सडकमा यात्रा नगर्न÷नगराउनु हुन अनुरोध छ ।’
यात्रा एवं सडकको अवस्थाका बारेमा कुनै प्रकारको जानकारी आवश्यक परेमा नजिकको प्रहरी चौकी वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा सम्पर्क गरी सूचना लिनु समेत अनुरोध गरिएको छ।