काठमाडौं । मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर काठमाण्डौ उपत्यका सहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमवारदेखि मौसम क्रमिक रुपमा सुधार हुने विभागले जनाएको छ ।