बीमा प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो ।

यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिश सम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर (एएलआईएस) को संचालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बीमकका प्रतिनिधिहरूबाट सुझावहरू लिइएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई समय सापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक रायसुझावहरू दिन आग्रह गरे ।

कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिंदै त्यसका लागि समेत ठोस रायसुझावहरू दिन आग्रह गरे । साथै, उनले बीमकहरूबाट प्राप्त रायसुझावहरूलाई समेत समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार