
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित तिनचुलेको बराह तालमा यस वर्ष पनि परम्परागत रूपमा प्रकृतिलाई खुसी पार्ने उद्देश्यले तोरन तान्ने धार्मिक संस्कार सम्पन्न गरिएको छ । स्थानीय बासिन्दाहरूले बाजागाजा सहित गाउँबाट लगेको तोरनलाई समुद्र सतहदेखि २,९३२ मिटर उचाइमा रहेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराउँदै विधिपूर्वक तानेका हुन् ।
धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीका अनुसार खेतीपाती र पशुपालनमा निर्भर स्थानीयहरूले परापूर्वकालदेखि हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन सामूहिक रूपमा तोरन तानेर प्रकृतिप्रतिको आस्था व्यक्त गर्दै आएका छन् । उनले बताए, “कात्तिक पूर्णिमामा तिनचुले बराह तालमा तोरन तान्दा गाउँमा अनिष्ट, प्राकृतिक विपद् वा रोगव्याधी नलाग्ने र शिवालय मन्दिरमा पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।”
चारवटा टोलबाट सामूहिक रूपमा तोरन ल्याइने यो संस्कार वैकुण्ठ चतुर्दशीको साँझदेखि शुरु हुन्छ । गाउँगाउँबाट माझखर्कमा लगिएको तोरनलाई डोलीमा राखी बाजा, भजनकिर्तनसहित बराह ताल र शिवालय मन्दिर परिक्रमा गराइन्छ । त्यसपछि शिवालय मन्दिर नजिकैको रुखमा बाबियोको डोरी र विभिन्न फूलका माला गाठी तोरन तानिन्छ ।
यस वर्ष पाँचवटा तोरन तानिएको र करिब एक हजार भक्तजनले मन्दिरमा पूजा–दर्शन गरेको समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए । समितिले सहभागी भक्तजनलाई निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो ।
ताराखोला, हिले, अर्गल, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, बाबियाचौर, पिपलबोट लगायतका स्थानबाट भक्तजन सहभागिता जनाएका थिए । माझखर्कमा तोरन लैजाने अघि परम्परागत ‘अन्धनिशान’ र ‘छेलो फाल्ने’ प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई ‘पहलमान’ घोषणा गरी फेता गुठ्याएर काँधमा बोकेर मन्दिर र बराह तालको परिक्रमा गराइएको थियो ।
तिनचुले क्षेत्र म्याग्दी र बागलुङ दुबै तर्फबाट सडक र पदमार्गले पहुँचयोग्य बनेपछि भक्तजनको आगमन पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए । उनका अनुसार ताराखोला र मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न पूर्वाधार निर्माणमा जोड दिइँदैछ ।
सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दर दृश्यमाथि अवस्थित तिनचुले बराह ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकका रूपमा चिनिँदै गएको छ ।













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा