काठमाडौं । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।
मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व (अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।