६ जना पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा, को कहाँबाट लड्दैछन् चुनाव ?

काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा होमिने भएका छन् । आज मनोनयन दर्ताको दिन हो ।

यो चुनावमा पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा छन् । यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले पुनः चुनावमा होमिने निर्णय गरेका छन् । यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा–२ बाट निर्वाचनमा होमिएका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन् । यो क्षेत्रमा गत निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि आफ्नो क्षेत्र छाडिदिएका थिए ।

कांग्रेसबाट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट निर्वाचन लड्दैछन् । यस क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए । अर्का अर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन भने रोल्पामा निर्वाचन लड्दैछन् । उनी तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।

एमालेबाट पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही–२ बाट निर्वाचनमा होमिँदैछन् । पौडेलले यो क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका छन् । उनी गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पटक–पटक गरी उनी ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयमा बिताएका छन् । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि सुनसरी–४ बाट निर्वाचन लड्दैछन् । सुनसरी–४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै उनी विजयी भएका थिए । सोही क्षेत्रमा कार्कीलाई कांग्रेसले पुनः टिकट दिएको हो ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिने तयारीमा छन् । प्रचण्डसँग अलग बनेका उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रुकम पश्चिमबाट उनी चार पटक विजयी भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार