काठमाडौं । चुनाव हुने सुनिश्चितता पछि बढेको सेयर बजार आज उच्च अंकले घटेर कारोबार भएको छ । आईतबार उच्च अंकले बढेको बजार सोमबार सामान्य करेक्सन भएको थियो । तर मंगलबार भने बजार ४२.५८ अंकले घटेर बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले कम हो ।
आइतबार ५७ अंकले बढेको बजार सोमबार ३ अंकले घटेको थियो । मंगलबारको कारोबार बन्द हुन्दा नेप्से परिसुचक २७२६.५१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य मात्रै बढेको छ । आज २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.३७ अंकले घटेर ४६४.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १६ अर्ब माथिको कारोबार भएको बजारमा आज १४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १ लाख ४२ हजार ४७६ पटक खरिद बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको कारोबार भएको छ ।