राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौं । “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले भने ।

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरुले आफूले बनाएका भाँडा बिक्रीका लागि राख्नुभएको छ । उहाँहरुको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उहाँसँग भाँडा किन्नेहरुभन्दा पनि उहाँहरुसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो ।

आगन्तुकहरु तपाईँ कहाँको राउटे ?, तपाईँको नाम के हो ? तपाईँले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरु सोध्दै थिए । सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरुले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताए ।दीपक यसअघि पनि काठमाडौँ सहर आइसकेका छन् । सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्नुहुन्छ । तर, काठमाडौंमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ ।

उनका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनुहुँदैन भन्ने मान्यता छ । “सहरमा भने रुपैयाँ न लिई सम्भवन नहुने रहेछ”, दीपकले भने, “अब पैसा न छोए कसरी बाँचिन्छ ?” दीपकले जङ्गलमा बस्ने राउटेले सहरीया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाउनुभयो । यहाँको भीडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको बताउनुभयो । उहाँले सहरमा घुमेको अनुभव सुनाउँदै भन्नुभयो, “सहरका मान्छे धेरै बोल्छ । हामीलाई झर्को लाग्छ ।”

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवद्र्धन गर्न खाद्य प्रदर्शन गरेको थियो ।

कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वस्थ्यवद्र्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताए।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार