कुनै दलसँग चुनावी तालमेल हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चुनावमा होमिएको स्पष्ट पारेका छन् । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका हुन् ।

राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भूमरीमा फस्ने दाबी उनको थियो । लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताए । अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख पनि गरे । त्यस्तै, राजगढमा आयोजित आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दुई कार्यकालमा भएका विकास र प्रगतिलाई उनले स्मरण गराए । राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत दिन आम मतदातालाई अपिल समेत गरे ।

मतदातासँग उनले भने, ‘भोट दिन मन नलागे  नदिनुस्, तर यस क्षेत्रमा केही काम नै भएको छैन चाहि नभन्नुस् ।’ आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको पुन: सम्झाए । अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो रहेको उनले बताए ।

अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरे । ‘आजभन्दा आठ वर्षअगाडि यो क्षेत्रबाट सांसदको हिसाबले तपाईंहरूले मलाई चुनाव जिताउनुभयो । आठ वर्षदेखि यो क्षेत्रको प्रतिनिधि छु । आठ वर्ष अगाडि यो ठाउँको अवस्था के थियो ?  एउटा कतै हामीले कालोपत्रे सडक देखेका थियौँ ? हाम्रो बाटोको अवस्था के थियो ? नदीको अवस्था के थियो ?’ उनले भने, ‘आज नदी तटबन्धका कामहरू भएका छन् । सडक कालोपत्रे भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि काम भएका छन् ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार