उद्यमीहरू नीतिनिर्माणमा अग्रसर: एनवाइइएफ ललितपुरद्वारा संवादबाट नीतिसम्म पहल

काठमाडौं । उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी कम गर्ने उद्देश्यसहित, Nepalese Young Entrepreneurs’ Forum को ललितपुर च्याप्टरले “Discussion to Policy: Shaping Policy Through Entrepreneurial Voices” कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे । त्यस अवसरमा नेपालको उद्यमशील वातावरणमा रहेका प्रमुख चुनौतीहरू र सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो। व्यवसाय विस्तारमा देखिएका नियामक जटिलता, नवउद्यमीहरूका लागि वित्तीय पहुँचको अभाव, नवप्रवर्तनमैत्री नीति निर्माणको आवश्यकता तथा सार्वजनिक–निजी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्नो अनुभव र सुझाव साझा गरेका थिए।

छलफलले उत्पादन, सेवा, प्रविधि, पर्यटन तथा हस्तकला लगायतका विविध क्षेत्रहरूमा रहेका अवसरहरूलाई उजागर गर्दै ती क्षेत्रहरूको विकासका लागि नीतिगत सहजीकरण, बजार पहुँच विस्तार, डिजिटलीकरण र सीप विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याएकाे छ। विशेषगरी हस्तकला क्षेत्रलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको उच्च सम्भावना भएको क्षेत्रका रूपमा उल्लेख गर्दै, यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप नीति समर्थन आवश्यक रहेको धारणा राखिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य संवादलाई ठोस नीतिगत सिफारिसमा रूपान्तरण गर्नु रहेको थियो। सोही अनुरूप, कार्यक्रमबाट संकलित विचार तथा सुझावहरूलाई Nepalese Young Entrepreneurs’ Forum ले सरकारसमक्ष प्रस्तुत गर्ने “Memorandum of Request” मा समेटिनेछ, जसले उद्यमीहरूको आवाजलाई नीतिनिर्माण प्रक्रियामा समावेश गर्ने अपेक्षा गरिएको छ।

यस पहलमार्फत NYEF ललितपुरले उद्यमशील समुदाय र नीतिनिर्माताबीच सहकार्य अभिवृद्धि गर्दै उद्यममैत्री वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार