काठमाडौं। मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ घण्टा ३६ मिनेट ०४ सेकेन्ड) दोश्रो तथा करण रावल (१ घण्टा ३६ मिनेट ४६ सेकेन्ड) तेश्रो भए । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौं स्थानमा रहे ।
सुनसरीले निर्धारित दूरी तय गर्न १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड समय खर्चिन् । राज्यलक्ष्मी रावल (२ घण्टा ०२ मिनेट ०७ सेकेन्ड) दोश्रो तथा गीता नेपाली (२ घण्टा १० मिनेट २२ सेकेन्ड) तेश्रो बने । आश्मा विकले चौथो तथा मन्जु सुनुवारले पाँचौं स्थानमा दौड टुंगाए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । दुवै समूहमा चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई आयोजक वडा ३ का अध्यक्ष आकाश धिताल, ओलम्पियन धाविका सन्तोषी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा २ सय ४० को सहभागिता रहेको प्रतियोगिता संयोजक समेत रहेका वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । बूढानीलकण्ठ मन्दिर परिसरबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी बूढानीलकण्ठ मन्दिर परिसरमै आएर टुंगिएको थियो ।