
काठमाडौं । चारपटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो । यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन । खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो ।
प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० खेलाडीमा सीमित रहँदा पनि खेललाई पेनाल्टीसम्म तानेको थियो, तर अन्ततः हार व्यहोर्नुपर्यो । इटालीले १५औं मिनेटमा मोइज केनको गोलबाट अग्रता लिएको थियो। निकोलो बारेल्लाको दबाबपछि गोलकिपर निकोला वासिल्जको गल्तीको फाइदा उठाउँदै केनले सुन्दर गोल गरेका थिए ।
तर पहिलो हाफको अन्त्यतिर अलेसान्द्रो बास्टोनी रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सीमित भयो । त्यसपछि बोस्नियाले लगातार आक्रमण गर्यो । ७९औं मिनेटमा एडिन जेकोको हेडर गोलकिपर जानलुइजी डोनारुम्माले रोके पनि रिबाउन्डमा हारिस तबाकोभिचले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी सुटआउटमा बोस्नियाका सबै खेलाडी सफल भए । बेन्जामिन ताहिरोभिच, तबाकोभिच, केरिम अलाजबेगोभिच र इस्मिर बज्रक्तारेभिचले गोल गरे । इटालीका दुई प्रहार असफल भएपछि टोलि बाहिरियो ।
बोस्नियाको ऐतिहासिक सफलता
बोस्निया–हर्जेगोभिना आफ्नो इतिहासमा दोस्रो पटक मात्र विश्वकपमा छनोट भएको हो । ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा रहेको टोलीले यसपटक समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इटालीका प्रशिक्षक गट्टुसो भावुक बन्दै आफ्नो भविष्यभन्दा टोलीको असफलता ठूलो भएको बताए ।
उनले भने, ‘यो निकै पीडादायी छ। हामीलाई, सम्पूर्ण इटालीलाई यो जित आवश्यक थियो ।’ इटालियन फुटबल महासंघका प्रमुख गाब्रिएले ग्राभिनाले भने पद नछाड्ने स्पष्ट पार्दै इटालियन फुटबल गम्भीर संकटमा पुगेको स्वीकार गरे । इटालीका विङ्गर लियोनार्डो स्पिनाज्जोलाले भने, ‘अब इटालियन बालबालिकाले फेरि विश्वकप इटालीबिना हेर्नुपर्नेछ ।’













समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य