काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका विराज भक्त श्रेष्ठ महँगा घडीको सोखिन देखिएका छन् । मन्त्री श्रेष्ठसँग ३ लाख मूल्य बराबरको महँगा घडी रहेको आफनो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुरुप उनीसँग टिर्सट, स्वाच अर्मानी र अभिमा नामका ब्राण्ड घडीहरु रहेका छन् । जसको मूल्य ३ लाख बराबर रहेको उनले विवरणमा उल्लेख गरेका छन् । उक्त घडी खरिद गर्नका लागि खर्च गरिएको रकम भने उनले स्वआर्जन र विवाहमार्फत प्राप्त गरेको बताएका छन् ।
मन्त्री श्रेष्ठको चल सम्पत्तिको रूपमा १५ तोला सुन, ५० तोला चाँदी रहेको छ । उनले उक्त सम्पत्ति पैतृक र विवाहमार्फत प्राप्त भएको उललेख गरेका छन् । उनको लुम्बिनी बैंकमा २४ लाख १७ हजार २ सय, एभेरष्टमा ७ लाख ३ हजार २४८, सिटिजन्समा १ लाख ४३ हजार ३३, सिनर्जी कोपरेटिभमा १५ लाख, राष्ट्रिय कोपरेटिभमा १५ लाख, राष्ट्रिय वाणिज्य बैंकमा १२ लाख ४२ हजार, नबिलमा १ लाख ६३ हजार ६३६ र सिनर्जी कोपरेटिभमा १ हजार नगद मौज्दात रहेको छ । उनले उक्त सम्पत्ति स्वआर्जनमार्फत् जोडेको बताएका छन् । उनी र श्रीमती सृष्टि सिंहको नामा सिनर्जी कोपरेटिभमा २५ लाख रहेको समेत उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठको विभिन्न कम्पनीहरुको १ करोड ४५ लाख ४८ हजार ४२० बराबरको २० हजार ९७८ कित्ता सेयर रहेको छ । उनले उक्त सेयर दैनिक रूपमा खरिदबिक्री गर्ने बताएका छन् ।
उनले २० लाख र ३० लाख गरी कुल ५० लाख ऋण लिएको बताएका छन् भने ३ लाख ५० हजार ऋण तिरेको उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठसँग सवारीसाधनको हकमा बा १ च ७५९३ नम्बरको ८ लाख ५० हजार मूल्यको ल्याण्ड क्रुजर टोयटा, प्रदेश ३÷०२ (००८ प ३०८९ को २ लाख ४६ हजारको स्कुटर र प्रदेश ३ (०१(०२३ च ३२४४१ को १९ लाख ७५ हजारको एमजी इलेक्ट्रकल सवारीसाधन रहेको उल्लेख गरेका छन् । ल्याण्ड क्रुजर र स्कुटर आफ्नो र स्वआर्जनटबा खरिद गरेको र एमजी सवारीसाधन बुबाको नाममा रहेका सवारीसाधनको बिक्री तथा मुद्दती खाताबाट स्वआर्जन गरी खरिद गरेको बताएका छन् ।
उनको अचल सम्पत्तिको विवरणमा काठमाडौं महानगर वडा २४ मा करिब २ आना र वडा १३ मा ४ आना जग्गा रहेको छ । उनले पैतृक जग्गा बिक्री गरेर उक्त सम्पत्ति आर्जन गरेको उल्लेख गरेका छन् ।
श्रेष्ठको स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा २४ इन्द्रचोक रहेको छ भने हाल बसोबास भने काठमाडौं महानगरपालिका वडा १३ ताहचाल रहेको उल्लेख गरेका छन् ।