
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् । बस्तीदेखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकारी निकायबाट प्राप्त अनुदान र श्रमदानको अलावा मेलाबाट भएको आम्दानीलाई पनि परिचालन गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लबको साझेदारीमा दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले चार किलोमिटर ४०६ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको उनले बताए ।
“दोवामा पर्यटक भित्र्याउने र बसाई लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, अध्यक्ष पुनले भने, “ सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”
पुनका अनुसार दोवाका २३ जना स्थानीयवासी करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । बस्तीदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । बडादशैँको अवसरमा मणिबाराही युवा क्लबले आयोजना गरेको मेलाबाट भएको आम्दानी पदमार्ग निर्माणमा सहयोग गरेको हो ।
पदमार्ग अनुगमनमा जानुभएकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भौगोलिक रुपमा विकट र दुर्गम ठाउँमा सरकारले विनियोजन गरेको बजेटमा स्थानीय युवा क्लबबाट रकम थपेर उपभोक्ता समितिले काम गरेकामा प्रशंसा गरे । परापूर्वकालमा दोवावासीले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रुपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।
बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तीहरुबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडाध्यक्ष गर्बुजाले बताए । उच्च पहाडी क्षेत्रमा गुराँसे जङ्गल, पहाडी भूगोल, हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । दोवादेखि आइसफल हुँदै मुस्ताङ पदमार्गले जोड्ने जनप्रतिनिधिको लक्ष्य रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू