रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्धनमा जोड

खोटाङ । लोपोन्मुख वन्यजन्तु संरक्षण र दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै दिक्तेलमा ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा पहिलोपटक आयोजना गरिएको तीनदिने सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा बहस केन्द्रित गर्ने लक्ष्य लिएको छ।

सरस्वती माध्यमिक विद्यालय परिसरमा सुरु सम्मेलनमा नेपालसहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया र जर्मनीका प्रतिनिधिको सहभागिता रहेको छ। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको छ। नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार जलवायु परिवर्तनका कारण जैविक विविधता र वन्यजन्तुमा बढ्दो जोखिमलाई सम्बोधन गर्न सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। “अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूको सहभागिताले नीति निर्माण र संरक्षणका दीर्घकालीन रणनीतिमा सहयोग पुग्नेछ,” उनले बताए।
वैशाख ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषयगत कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ। ती कार्यपत्रहरूमा जैविक विविधता संरक्षण, संरक्षित क्षेत्रको प्राथमिकता निर्धारण, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित विषय समेटिने जनाइएको छ।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. दिलीप सुब्बाले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन अवसरमा दिक्तेल बजारमा र्‍याली, सांस्कृतिक झाँकी तथा रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटकसमेत प्रस्तुत गरिएको थियो। सम्मेलनसँगै दिक्तेलमा स्थानीय उत्पादन र कलाको प्रदर्शनीले पनि आकर्षण बढाएको छ। विशेषगरी बाँसबाट बनाइएका रेडपाण्डा र थारका कलात्मक चित्र दर्शकको ध्यान केन्द्र बनेका छन्। स्थानीय कलाकारहरूले परम्परागत सामग्री प्रयोग गरी सिर्जना गरेका यस्ता कृतिले पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमले स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ। होटल तथा व्यापार व्यवसायमा चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्। साथै, सम्मेलनसँगै विज्ञान तथा गणित प्रदर्शनी आयोजना गरिएकाले जिल्लामा शैक्षिक तथा पर्यटकीय गतिविधि थप सक्रिय बनेको छ। यसैबीच, नगरपालिकाले रेडपाण्डा संरक्षणलाई समुदायस्तरमा विस्तार गर्ने अभियान अघि बढाएको छ। पाथेका र फेदी क्षेत्रमा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन भइरहेको छ। मुन्दुम ट्रेल नजिकका जंगलमा रेडपाण्डा पाइने पुष्टि भएपछि ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ।

स्थानीय स्रोत परिचालनमार्फत विकास सम्भव रहेको सन्देश दिन नगरपालिकाले बाँसजन्य उद्योग प्रवर्द्धनलाई पनि जोड दिएको छ। यसअघि गरिएको राष्ट्रिय बाँस सम्मेलनको पहलपछि सरकारले बाँस संरचनासम्बन्धी मार्गदर्शन स्वीकृत गरिसकेको छ, जसले भूकम्प प्रतिरोधी र वातावरणमैत्री निर्माणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। समग्रमा, सम्मेलनले संरक्षण, पर्यटन र स्थानीय अर्थतन्त्रबीच सन्तुलन कायम गर्ने नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार