कसैको इतिहास मेट्न होइन सबैको सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न खोजेका हौंः कांग्रेस महामन्त्री पौडेल

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कसैको इतिहास मेट्न नभै सबैको इतिहास सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न थालिएको बताएका छन् । सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रीत प्रशिक्षणमा सम्बोधन गर्दै सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले पहिल्यै सदस्यता लिएकाहरुले इतिहास मेट्न खोजेकोमा सशंकित नहुन आग्रह गरे ।

‘एक अग्रज नेताले बीपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको भनेर अन्र्तवार्ता दिनुभएको सुनें,’ उनले भने, ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु । तपाईंको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौं ।’ इतिहास कसैले नबिर्सने गरी डिजिटलीकृत गरिने उनले बताए ।

महामन्त्री पौडेलले देशमा चुनाव लडेको १६५ मध्ये १७ क्षेत्रमा क्रियाशिल सदस्य बराबर मत समेत पाउन नसकिएको भन्दै यस आधारमा क्रियाशिललालाई नयाँ ढंगबाट अद्यावधिक गर्न जरुरी ठानेको बताए । ‘यसपाली चुनावमा पहिले जति आमसमा भएन, जुलुश भएन, फोटो टाँसिएन । तर प्रचारै नगरी कसैले चुनाव जितेको होइन । फेरिएको प्रचारको तरिका हामीले त्यो आत्मसाथ गर्न सकेनौं,’ उनले भने,‘हिजोको शैलीले प्रचार गरेर जित्न सकिंदैन भनेरै सदस्यलाई डिजिटल फ्रेममा आबद्ध गर्न खोजेका हौं ।’

अद्यावधिक गर्दा नबनेका सदस्यलाई बनाउन नखोजिएको र एकलौटी रुपमा मनपरी गर्न पनि नखोजेर भएको इतिहास सुरक्षित गर्न खोजेको उनले बताए । उनले अबको डिजिटल प्रणालीका सदस्यले नीतिगत परिवर्तनका सवालमा पार्टी र नेतृत्वलाई सिधै प्रविधिका माध्यमबाट सुझाव दिन सक्ने उनले बताए । ‘जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान अघि बढाएका हौं,’ उनले भने,‘यसले पार्टीलाई वैचारिक पक्षबाट सबै सदस्यलाई जोड्छ । सदस्य भएकोमा गर्व गर्ने बनाउँछ ।’

स्थानीय र प्रदेश निर्वाचन नजिक रहेको भन्दै उनले भने, ‘यो अघि सदस्यता अद्यावधिक गर्न सके सबै सदस्यलाई पार्टीका उम्मेदवार जिताउन सक्रिय बनाउन सक्छौं ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार