साउदी अरबले इरानमाथि गोप्य हवाई आक्रमण गरेको खुलासा

काठमाडौं । साउदी अरबले मध्यपूर्व युद्धका क्रममा इरानमाथि गोप्य रूपमा हवाई आक्रमण गरेको खुलासा भएको छ। दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले साउदी अरबले आफ्नो भूमिमा भएका इरानी आक्रमणको बदलास्वरूप मार्च अन्त्यतिर इरानभित्र सैन्य कारबाही गरेको जनाएको हो।

यो घटनाले साउदी अरबले पहिलो पटक प्रत्यक्ष रूपमा इरानी भूमिमै सैन्य हमला गरेको संकेत दिएको छ । यद्यपि आक्रमण कुन स्थानमा गरिएको थियो भन्ने खुलाइएको छैन ।

रिपोर्टअनुसार, संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई हमला सुरु गरेपछि युद्ध व्यापक बन्दै गएको थियो। त्यसपछि इरानले खाडी क्षेत्रका सबै ६ वटा जीसीसी राष्ट्रमाथि ड्रोन र मिसाइल आक्रमण गरेको तथा तेल पूर्वाधार, विमानस्थल र अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको बताइएको छ।

साउदी आक्रमणपछि दुवै देशबीच कूटनीतिक संवाद तीव्र भएको र थप युद्ध टार्न “तनाव घटाउने समझदारी” बनेको स्रोतहरूले बताएका छन् । त्यसपछि साउदी अरबमाथि हुने इरानी ड्रोन तथा मिसाइल आक्रमणमा उल्लेख्य कमी आएको रोयटर्सको तथ्यांकले देखाएको छ ।

संयुक्त अरब इमिरेट्सले पनि इरानविरुद्ध सैन्य कारबाही गरेको दाबी गरिएको छ । यसले खाडीका राष्ट्रहरूले इरानको आक्रमणको प्रतिकार गर्न थालेको संकेत दिएको छ ।

यद्यपि साउदी अरबले सार्वजनिक रूपमा तनाव कम गर्ने नीति अपनाएको जनाएको छ । साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले “क्षेत्रीय स्थायित्व, सुरक्षा र समृद्धिका लागि तनाव घटाउन आवश्यक रहेको” बताएका छन् ।

इरान र साउदी अरबबीच २०२३ मा चीनको मध्यस्थतामा सम्बन्ध सुधार भएको थियो। त्यसयता दुवै देशबीच प्रत्यक्ष द्वन्द्व टरेको मानिए पनि पछिल्लो युद्धले त्यो सम्बन्ध पुनः तनावपूर्ण बनेको देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार