कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबिचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको अनुपम धरोहर भएको बताए । उनले चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज क्षेत्रमा ४६० भन्दा बढी प्रजातिका चरा अभिलेख गरिएको जानकारी दिए । उनका अनुसार विशेष गरी सिकारी ताल क्षेत्र चराको महत्त्वपूर्ण बासस्थानका रूपमा परिचित रहेको छ । उक्त क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उनले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताए ।
“सिमसार क्षेत्र जोगाउन सके मात्रै जलचर तथा प्रवासी चराको वासस्थान सुरक्षित रहन्छ,” प्रमुख संरक्षण अधिकृत चौधरीले भने, “चरा संरक्षण र पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको संरक्षण अपरिहार्य छ।”
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चरा पर्यटन प्रकृतिमा आधारित दिगो पर्यटनको महत्त्वपूर्ण आधार बन्दै गएको बताए । उनले वन, वन्यजन्तु र चराको संरक्षणबाट पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने उल्लेख गर्दै संरक्षणका गतिविधिमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको धारणा राखे।
चराविद् हिरुलाल डगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यमध्ये एक भएको बताए । उनले यहाँ पाइने दुर्लभ, सङ्कटापन्न तथा प्रवासी चराले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख गरे ।