काठमाडौं । प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
पार्टीले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत र तथ्यहीन रहेको दाबी गर्दै ‘खबरदारी सभा’ आयोजना गरेको हो। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेका थिए।
प्रदर्शनकारीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रको सम्मान जोगाऔं’ र ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। उनले सीमा समस्या हुनु र कुनै देशले अर्को देशको भूमि मिच्नु फरक विषय भएको उल्लेख गर्दै दुवैलाई एउटै रूपमा प्रस्तुत गर्न नहुने बताए।
राईले सीमा सम्बन्धी राष्ट्रिय मुद्दामा आफ्नो पार्टीको अडान यथावत् रहेको बताउँदै नेपालको भूभाग र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।