
काठमाडौं । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ ।
नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भू–भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ । तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी भू–भागबाट नेपाल भित्रिएको थियो । सुरुमा कोशी प्रदेशको केही भू–भागमा विस्तार भएको मनसुन असार ८ गते (जुन २२ तारिख) कोशीको बाँकी सम्पूर्ण भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानसम्म फैलिएको थियो । यस वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको छ ।
अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
आज बुधबार दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ । देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आकलन गरिएको छ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । आज विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने बताएको छ । महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।












समाचार
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
मौद्रिक नीतिमा आर्थिक स्थायित्व र वृद्धिको सन्तुलन आवश्यक: कार्यवाहक गभर्नर पण्डित
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
विश्वकप फुटबल : आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा
पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
विश्वकप फुटबल : स्वीडेनमाथि फ्रान्सको सानदार जित, एम्बाप्पेको दुई गोल