होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल

काठमाडौं । अमेरिका र इरानबिचको बढ्दो सैन्य द्वन्द्वले मध्यपूर्वमा तनाव थप चर्किरहेका बेला अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको सुरक्षाका लागि साउदी अरबले प्रस्ताव गरेको ‘समुद्री रक्षा गठबन्धन’लाई १४ देशले समर्थन गरेका छन्।

साउदी अरबको रक्षा मन्त्रालयले बिहीबार अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी व्यापारको सुरक्षा सुनिश्चित गर्न गठबन्धन निर्माण गर्ने प्रस्तावलाई १४ देशले समर्थन गरेको जनाएको हो । यद्यपि, मन्त्रालयले ती देशहरूको नाम भने सार्वजनिक गरेको छैन ।

अमेरिका–इरान द्वन्द्वका कारण मध्यपूर्वका महत्त्वपूर्ण समुद्री मार्गमा व्यापारिक जहाजको आवागमन उल्लेख्य रूपमा घटेको छ। विशेष गरी विश्वको महत्त्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग मानिने होर्मुज जलडमरूमध्यमा जहाजको आवागमन युद्धअघि औसतमा दैनिक करिब १२० वटा हुने गरेकोमा पछिल्लो २४ घण्टामा कम्तीमा १५ वटा व्यावसायिक जहाज मात्र आवतजावत गरेका छन् ।

समुद्री यातायातसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने मरीनट्राफिकका अनुसार पछिल्लो २४ घण्टामा १० वटा जहाज पर्सियन गल्फतर्फ प्रवेश गरेका थिए, जसमा सात कार्गो जहाज र तीन ट्यांकर थिए। त्यस्तै पाँच वटा जहाज गल्फ अफ ओमानतर्फ निस्किएका थिए ।

मध्यपूर्वको अर्को महत्त्वपूर्ण जलमार्ग बाब अल–मन्देब जलडमरूमध्यमा पनि जहाजको आवागमन प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा कम्तीमा ४८ वटा व्यावसायिक जहाजले यो जलमार्ग पार गरेका छन्। अघिल्लो दिन यस्तो सङ्ख्या ३७ थियो। तर, इरानसमर्थित हुथी विद्रोहीहरूले यस साँघुरो समुद्री मार्गमा दबाब बढाउन थालेयता बाब अल–मन्देबमा जहाजको आवागमन करिब एक–पाँचौँले घटेको जनाइएको छ ।

यसैबिच, इजिप्ट पनि अमेरिका–इरान द्वन्द्वमा प्रत्यक्ष रूपमा तानिन सक्ने सङ्केत देखिएको छ। इजिप्टले बुधबार दमियेटा बन्दरगाहमा भएको ड्रोन आक्रमणका कारण दुई वटा जहाजमा आगलागी भएको जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले लिएको छैन। यदि यो जानाजानी गरिएको आक्रमण पुष्टि भएमा, द्वन्द्व सुरु भएयता इजिप्टमाथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हुनेछ ।

तेहरानमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्य बन्द नै रहने बताउँदै ‘आक्रमणकारीलाई आजै सजाय दिइने’ चेतावनी दिएको छ। अमेरिकी सेनाले मंगलबार आफ्ना सैन्य अखडामाथि इरानले आक्रमण गर्ने प्रयास गरेको दाबी गरेपछि बुधबार राति इरानमाथि ठुलो स्तरमा अमेरिकी आक्रमण गरेको थियो।

यसैबिच, इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट क्षेत्रमा हिजबुल्लाहका सुरुङहरू नष्ट गरेको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै करिब ७०० टन विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ ध्वस्त पारिएको बताएका छन्।

इजरायलले ती भूमिगत संरचना उत्तरी इजरायलका समुदायमाथि आक्रमण गर्ने हिजबुल्लाहको योजनाका लागि महत्त्वपूर्ण रहेको दाबी गरेको छ। साथै, हिजबुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा आफ्नो उपस्थिति कायम राख्ने र हिजबुल्लाहले सैन्य क्षमता पुनर्निर्माण गर्न नपाओस् भनेर संरचना ध्वस्त पारिरहने जनाएको छ। हिजबुल्लाहले भने तत्काल यसबारे प्रतिक्रिया दिएको छैन।

समुद्री यातायातमा जीपीएस स्पुफिङ पनि थप चुनौती बनेको छ। यस प्रविधिबाट जहाजको वास्तविक स्थानभन्दा फरक स्थान देखिने भएकाले समुद्री सुरक्षामा जोखिम बढेको छ। पछिल्लो २४ घण्टामा होर्मुज र बाब अल–मन्देब दुवै क्षेत्रमा नागरिक जहाजहरू यस प्रकारको हस्तक्षेपबाट प्रभावित भएका छन्।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जुलाई ३० सम्म अमेरिकी सेनाले क्षेत्रीय प्रतिबन्ध कार्यान्वयन गर्ने क्रममा २४ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको, दुई वटा जहाजलाई निष्क्रिय बनाएको र दुई वटामा प्रवेश गरी निरीक्षण गरेको छ। मध्यपूर्वका यी महत्त्वपूर्ण समुद्री मार्गमा तनाव बढ्दै जाँदा विश्वव्यापी ऊर्जा आपूर्ति, व्यापारिक ढुवानी र अन्तर्राष्ट्रिय बजारमा यसको प्रभाव अझ गहिरिन सक्ने चिन्ता बढेको छ।

फेसबुक प्रतिक्रिया