
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी ) र कभर्ड सर्ट सेलिङ लागू गर्ने तयारीस्वरूप पहिलोपटक परामर्शपत्र सार्वजनिक गरेको छ।
साउन १४ गते सार्वजनिक गरिएको ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३’ मार्फत बोर्डले बजारको तयारी मूल्यांकन गर्नुका साथै सरोकारवाला निकाय तथा लगानीकर्ताबाट राय–सुझाव आह्वान गरेको हो।
सेबोनका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा सञ्चालन गर्ने घोषणा गरिएको थियो। सोही घोषणाअनुसार बोर्डको चालु आर्थिक वर्षको पूँजी बजार नीति तथा कार्यक्रममा पनि मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत तथा प्रक्रियागत संरचना तयार गर्ने व्यवस्था गरिएको छ।
बोर्डले विश्वका विकसित पूँजी बजारमा यस्ता सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी र दक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिक, सुरक्षित र प्रतिस्पर्धी पूँजी बजार विकास गर्ने उद्देश्यले यी सेवाहरू चरणबद्ध रूपमा लागू गर्न लागिएको जनाएको छ।
अवधारणापत्र चार अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण र सुधारको आवश्यकता समेटिएको छ। दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालका लागि सिकाइ प्रस्तुत गरिएको छ भने तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण गरिएको छ। चौथो अध्यायमा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा कभर्ड सर्ट सेलिङ मोडेलसहित नीतिगत सिफारिसहरू प्रस्ताव गरिएको छ।
अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा अन्य सम्बन्धित निकायहरूको भूमिका पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ। साथै कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधि आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीति पनि समेटिएको छ।
बोर्डले परामर्शपत्रमा प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा कभर्ड सर्ट सेलिङ नियमावली तर्जुमा गरी सार्वजनिक गर्ने जनाएको छ। सरोकारवाला पक्षलाई आफ्नो सुझाव बोर्डको इमेल research@sebon.gov.np मार्फत पठाउन पनि अनुरोध गरिएको छ।
सेबोनले यी धितोपत्र वित्तीय सेवाको कार्यान्वयनबाट नेपालको पूँजी बजारमा स्थायित्व, तरलता अभिवृद्धि, व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, नयाँ वित्तीय उपकरणको उपलब्धता तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।












समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका
स्वास्थ्य बीमा बोर्डद्वारा विपन्न नागरिकको उपचारबापत करिब ३० करोड रुपैयाँ भुक्तानी
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल नियुक्त
बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा