अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी

तेहरान । अमेरिका र इजरायलबाट थप सैन्य कारबाही हुन सक्ने आशंका बढिरहेका बेला इरानले कुनै पनि आक्रमणको निर्णायक र आनुपातिक जवाफ दिने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले टर्की, पाकिस्तान र साउदी अरबका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै यस्तो चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘धेरै कडा’ प्रहार गर्ने चेतावनी दिएको एक दिनपछि मध्यपूर्वभर रहेका अमेरिकी दूतावासहरूले आफ्ना नागरिकलाई ‘अप्रत्याशित रूपमा तनाव बढ्न सक्ने’ अवस्थाका लागि तयार रहन आग्रह गरेका छन्।

यसबिच इरान–अमेरिका युद्धमा हर्मुज जलडमरू थप महत्त्वपूर्ण तनावबिन्दु बनेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाले आफ्नो समुद्री नाकाबन्दी र सैन्य गतिविधि जारी राखे हर्मुज जलडमरूको नाकाबन्दी अझ कडा पारिने र अन्य महत्त्वपूर्ण जलमार्ग तथा चोकपोइन्टसमेत बन्द गर्न सकिने चेतावनी दिएका छन्।

‘अमेरिकी शासनको समुद्री नाकाबन्दी र युद्धोन्माद जारी रहे हर्मुज जलडमरूको बन्देज अझ कडा बनाइनेछ र अन्य जलडमरूमध्य तथा रणनीतिक मार्गहरू पनि बन्द गरिनेछन्,’ इरानी सरकारी समाचार संस्था इरनाले जोल्घाद्रलाई उद्धृत गर्दै जनाएको छ। उनले यस्तो कदमको मूल्य विश्व अर्थतन्त्र, ऊर्जा बजार र अमेरिकी मतदाताले समेत चुकाउनुपर्ने चेतावनी दिएका छन्।

पाँच महिनाभन्दा लामो समयदेखि हर्मुज बन्द

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेपछि केही घण्टामै इरानले हर्मुज जलडमरू बन्द गरेको थियो। पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि यो महत्त्वपूर्ण जलमार्ग बन्द नै रहेको इरानी पक्षको दाबी छ।

हर्मुज हुँदै युद्धअघि विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गरेको थियो। जलमार्ग बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध उत्पन्न भएको र मूल्य बढेको बताइएको छ।

गत महिना इरानको सहयोगी यमनस्थित हुथी समूहले पनि लाल सागरमा साउदी अरबविरुद्ध नाकाबन्दी घोषणा गरेको थियो। हर्मुज बन्द भएपछि लाल सागर हुँदै मोडिएका आपूर्ति मार्ग प्रभावित हुँदा यसले क्षेत्रीय ऊर्जा व्यापारमा थप दबाब सिर्जना गरेको छ। जुनमा साउदी अरबले लाल सागर हुँदै दैनिक करिब ४१ लाख ब्यारेल तेल निर्यात गरेको थियो।

इरानले सैन्य तयारी तीव्र पार्दै

इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले भविष्यका सम्भावित युद्धका लागि देशको रक्षा उद्योगले चार क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार ती क्षेत्र हुन्—अन्तरिक्षमा आधारित प्रविधि, गुप्तचर क्षमतामा श्रेष्ठता, ‘रक्षा अर्थतन्त्र’ र औद्योगिक पूर्वाधारको लचकता।

रक्षा अर्थतन्त्रअन्तर्गत कम लागतमा प्रभावकारी, तीव्र रूपमा परिचालन गर्न सकिने र ठूलो संख्यामा उत्पादन गर्न सकिने सैन्य सामग्री स्वदेशमै निर्माण गर्ने क्षमतालाई प्राथमिकता दिइने उनले बताए।

इरानले हालको युद्धमा अमेरिकी पक्षले आफ्ना सैन्य उद्देश्य हासिल गर्न नसकेको दाबी गरे पनि त्यसबाट आफूहरू ढुक्क भएर बस्न नहुने उनको भनाइ छ।

‘शत्रुको अन्योल, रणनीतिक गतिरोध र सीमित हुँदै गएका विकल्पबारे अहिले धेरै विश्लेषकले चर्चा गर्न सक्छन्,’ उनले भने, ‘तर त्यस्तो मूल्यांकनले हामीलाई आत्मसन्तुष्ट वा निष्क्रिय बनाउनु हुँदैन।’

उनले इरानको रक्षा उद्योगलाई विगतभन्दा अझ तीव्र गतिमा प्रगति, नवप्रवर्तन र तयारी अघि बढाउन निर्देशन दिएका छन्।

मिसाइल र ड्रोन उत्पादनमा इरानको जोड

दशकौँदेखि कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्दै आएको इरानले तुलनात्मक रूपमा कम लागतमा मिसाइल र ड्रोन उत्पादन गर्ने क्षमता विकास गरेको छ।

इरानी पक्षका अनुसार यसले ठूलो संख्यामा ड्रोन तथा मिसाइल प्रयोग गरेर विपक्षीको हवाई प्रतिरक्षामाथि दबाब सिर्जना गर्न र महँगा इन्टरसेप्टर प्रयोग गर्न बाध्य पार्न सहयोग गरेको छ। त्यसैले इरानले आगामी दिनमा पनि स्वदेशी सैन्य उत्पादन क्षमता विस्तार गर्ने रणनीतिलाई प्राथमिकता दिएको छ।

ऊर्जा पूर्वाधारमाथि आक्रमणको आशंका

इरानले अमेरिकाबाट आफ्नो महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको प्रतिकार गर्ने तयारी गरिरहेको बताएको छ। इरानी युद्धकालीन सैन्य कमान्डका प्रमुख मेजर जनरल अली अब्दोल्लाहीले शनिबार अमेरिकाले ‘पूर्ण क्षेत्रीय युद्धको आगो भड्काउने गति तीव्र पारिरहेको’ आरोप लगाए।

उनले मध्यपूर्वका अन्य देशहरूलाई आफ्नो भूभाग, स्रोत र पूर्वाधार अमेरिकाको स्वार्थका लागि प्रयोग हुन नदिन चेतावनी दिए। अमेरिका र इजरायलले इरानका विद्युत् केन्द्र तथा पेट्रोकेमिकल उद्योगसहित नागरिक पूर्वाधारमाथि ठूलो स्तरको आक्रमण गर्न सक्ने अमेरिकी सञ्चारमाध्यममा प्रकाशित रिपोर्टपछि उनको चेतावनी आएको हो।

रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले यस्तो सम्भावित सैन्य अभियानलाई अन्तिम स्वीकृति भने दिइसकेका छैनन्। तर सम्भावित अभियान दुई सातासम्म चल्न सक्ने र तेहरानसहित इरानका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध गर्ने उद्देश्य राख्न सक्ने बताइएको छ।

अमेरिकी मिसाइल प्रतिरक्षा प्रणालीमा दबाब

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले हालसम्म अपेक्षाकृत प्रभावकारी काम गरे पनि लामो समयदेखि जारी सैन्य कारबाहीका कारण अमेरिकी सेनासँग रहेका मिसाइल इन्टरसेप्टरको भण्डारमा दबाब परेको छ।

उसका अनुसार अमेरिकासँग रहेका प्याट्रियट मिसाइल इन्टरसेप्टर १ हजारभन्दा कम र थाड इन्टरसेप्टर करिब २५० को हाराहारीमा पुगेका छन्। यसले युद्ध थप लम्बिँदै गएमा अमेरिका र उसका सहयोगीका लागि मिसाइल प्रतिरक्षा क्षमता ठूलो चुनौती बन्न सक्ने संकेत गरेको छ।

युद्धको क्षेत्रीय प्रभाव फैलिँदै

इरान र अमेरिकाबिचको प्रत्यक्ष सैन्य टकरावसँगै यसको प्रभाव मध्यपूर्वका अन्य क्षेत्रमा पनि फैलिँदै गएको छ। इरानसँग गठबन्धनमा रहेका समूहहरूको गतिविधि, हर्मुज र लाल सागरका जलमार्गमा अवरोध तथा ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको जोखिमले क्षेत्रीय संकटलाई अझ जटिल बनाएको छ।

यसैबीच इरानले अमेरिकासँग जोडिएका क्षेत्रीय देशहरूलाई आफ्नो भूमि वा पूर्वाधार अमेरिकी सैन्य गतिविधिका लागि प्रयोग गर्न नदिन चेतावनी दिएको छ। अर्कोतर्फ अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने संकेत दिइरहेको छ। यसले युद्ध तत्काल सीमित हुनेभन्दा अझ व्यापक क्षेत्रीय संघर्षतर्फ जाने जोखिम बढाएको छ।

फेसबुक प्रतिक्रिया