
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यति बेला व्यावसायिक कफी खेतीमा रमाइरहेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थालेका छन् ।
चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गरेका छन् । गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गरेका उनले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताए ।
अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कफीको माग उच्च रहेको बुझाइका आधारमा उनी कफी खेतीप्रति आकर्षित भएका हुन् । “कफी खेतीमा सुरुमा मिहिनेत धेरै लाग्छ, तर उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ”, उनले भने ।
कफी खेती विस्तारमा षडानन्द नगरपालिकाको सक्रिय साथले किसानलाई थप उत्साहित बनाएको छ । नगरपालिकाले कृषि उपकरण, प्राविधिक सहयोग, बिरुवा तथा तालिम उपलब्ध गराउँदै किसानलाई व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ ।
किसानलाई कफी खेतीमा प्रोत्साहन गर्न षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यावसायीकरण परियोजना’ सञ्चालन गरेको छ । कफीलाई आयआर्जन र रोजगारीको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
गत आवमा नगरपालिकाको रु एक करोड ६५ लाख बजेट र किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको आकार रु दुई करोड ८९ लाख पुगेको कृषि विकास शाखाले जनाएको छ । यस कार्यक्रममार्फत कफीखेतीको विस्तार, उत्पादन वृद्धि र बजारसँग जोड्ने पहल भइरहेको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय तथा अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार यहाँ करिब पाँच हजार हेक्टर क्षेत्रमा कफी खेती गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
“नगरको समृद्धिसँगै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले कफी खेतीमा जोड दिएका हौँ”, प्रमुख उदासले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ । त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ।”
षडानन्द क्षेत्रमा कफी खेती विस्तारसँगै अन्य किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहको लगानी, प्राविधिक सहयोग र किसानको सक्रियताले कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने देखिएको स्थानीयवासीको भनाइ छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि