
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् । मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए ।
राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित सङ्ग्रह गर्नु अनिवार्य भएको उनको भनाइ छ। “यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद,” अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीहरूलाई भने, “अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।”
अवलोकनका क्रममा उनले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका सङ्ग्रहहरूबारे संक्षिप्त जानकारी लिए । सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए-नभएको सन्दर्भमा पनि कर्मचारीहरूसँग चासो राखे ।
अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेजहरू संरक्षण गर्नु चुनौतीपूर्ण बनेको बताए ।
अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखहरूको सुरक्षा गर्न कठिन बनेको उनको भनाइ छ। अभिलेखालयले स्रोतको अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको उनले बताए । महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधिको प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?