एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) नेपालको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वज्निक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढेको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा प्रगति गर्न सफल भएको छ । कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा २८.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँबाट ६.६५ प्रतिशतले बढेर २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल आम्दानी पनि गत आर्थिक वर्षमा ३३ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३.५२ प्रतिशतले धेरै हो । कम्पनीको यस्तो आम्दानी अघिल्लो आवमा ३२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

यता कम्पनीको खुद लाभ तथा दाबी भुक्तानी २६ अर्ब ८३ करोड ८५ लाख रुपैयाँबाट बढेर २७ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ । कम्पनीको कुल खर्च पनि बढेको छ । यस्तो खर्च गत आर्थिक वर्षमा ३० अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३.८३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस्तो खर्च २९ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ८७ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १ अर्ब ४६ अर्ब माथि पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषको आकार १ खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.६१ प्रतिशतमै यथावत रहेको छ । चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोष ५.५४ प्रतिशतले बढेर ७७ करोड ३५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २३ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट