
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । यस समझदारीमार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान तथा भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरूमा सहभागिता बढाउने, व्यवसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने तथा बागमती विश्वविद्यालयका विद्यार्थीहरूका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ । साथै, अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने, उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलनहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आजको समयको आवश्यकता अनुरूप विश्वविद्यालयहरूले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो । आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ ।’
अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बन्नुपर्ने बताए । बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए ।
प्रा. डा. पौडेलले नेपाल चेम्बर अफ कमर्ससँगको यो सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई व्यवहारिक बनाउने तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए