
काठमाडौं । नेपाली पर्वतारोही तथा अन्तर्राष्ट्रिय IFMGA माउन्टेन गाइड अबिरल राईले अफ्रिका महादेशको सर्वोच्च शिखर माउन्ट किलिमनजारो (५,८९५ मिटर) सफलतापूर्वक आरोहण गर्दै आफ्नो अन्तर्राष्ट्रिय पर्वतारोहण यात्रामा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्। चर्चित गायक राजु लामासंग मंगलवार बिहान ९ बजे किलिमनजारोको सफल आरोहण गरे संगै राईले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने प्रतिष्ठित ‘सेभेन समिट्स’अभियान अन्तर्गत ६ महादेशका सर्वोच्च शिखरमा सफलता हासिल गरेका छन् ।
यो उपलब्धि उनको व्यक्तिगत मात्र नभई नेपाली पर्वतारोहण क्षेत्र तथा विशेषगरी थुलुङ राई समुदायको पर्वतारोहण इतिहासमा गौरवपूर्ण र प्रेरणादायी अध्याय बनेको छ। हालका नेपाली युवा पर्वतारोहीहरु प्राविधिक रुपमा अब्बल, औपचारिक शिक्षा प्राप्त साथै सिप तथा अनुभवले खारिएका छन् जसले नेपाली पर्वतारोहणलाई नयाँ दिशातर्फ अग्रसर गराउँदै गएको छ । यिनै आशालाग्दा नेपाली पर्वतारोहीका एक प्रतिनिधी पात्र राई फोटोग्राफर तथा भिडियोग्राफर समेत हुन् ।

उनी हाल नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (NNMGA) का कोषाध्यक्षका रूपमा समेत सक्रिय छन्। लामो समयदेखि हिमाल आरोहण, पर्वतारोहण नेतृत्व, उद्धार, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय पर्वतारोहण अभियानमा सक्रिय राईले नेपाली पर्वतारोहणको क्षमता र पहिचानलाई विश्वमञ्चमा निरन्तर प्रतिनिधित्व गर्दै आएका छन्। किलिमनजारोको सफल आरोहणसँगै राईले हालसम्म ७ मध्ये विश्वका ६ महादेशका सर्वोच्च शिखर मा पाइला टेकिसकेका छन् ।
– एशिया सगरमाथा (Mount Everest), ८,८४८.८६ मि २०२२, २०२४ र २०२६ गरी तीन पटक सफल आरोहण।
– दक्षिण अमेरिका एकोन्कागुआ (Aconcagua), ६,९६१ मि २२ फेब्रुअरी २०२५।
– ओसिनिया कार्स्टेन्स पिरामिड (Carstensz Pyramid/Puncak Jaya), ४,८८४ मिटरस् १० अक्टोबर २०२५।
– अन्टार्कटिका माउन्ट भिन्सन (Mount Vinson), ४,८९२ मि ६ जनवरी २०२६।
– युरोप माउन्ट एल्ब्रस (Mount Elbrus), ५,६४२ मि ५ जुलाई २०२६।
– अफ्रिका माउन्ट किलिमनजारो (Mount Kilimanjaro), ५,८९५ मि ११ अगस्ट २०२६।
अबिरल राईले सगरमाथा तीन पटक सफलतापूर्वक आरोहण गर्नुका साथै ल्होत्से, मनास्लु लगायत ८,००० मिटर तथा ७,००० मिटर का हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्। साथै, उनले ६,००० मिटरभन्दा अग्ला दर्जनौँ हिमालमा आरोहण तथा पर्वतारोहण नेतृत्वको अनुभव हासिल गरेका छन्। उनले न्यासनल जोग्राफिक, आउटसाइड लगायत दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त संचार गृह, पत्रपत्रिका, तथा व्यक्तित्वहरुका लागि फोटो र भिडियो पनि खिचेका छन् ।
सेभेन समिट्सको यात्रा मा अघि बढ्नका लागि पूर्व गोर्खा सैनिक तथा विश्वप्रसिद्ध पर्वतारोही हरि बुढा मगर संगको सहकार्य कोसेढुगां भएको अविरल राईले बताएका छन् । राईका अनुसार, सगरमाथादेखि एकोन्कागुआ, कार्स्टेन्स पिरामिड र माउन्ट भिन्सनसम्म चारवटा महादेशका सर्वोच्च शिखरको अभियानमा हरि बुढा मगरसँगै यात्रा गर्ने अवसर प्राप्त भएको थियो। यी अभियानहरूमा राईले फोटोग्राफर, भिडियोग्राफर तथा माउन्टेन गाइडका रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राईले आफ्नो अन्तर्राष्ट्रिय पर्वतारोहण यात्राका ती महत्वपूर्ण चरणमा प्राप्त सहकार्य, विश्वास र अवसरका लागि हरि बुढा मगरप्रति विशेष आभार व्यक्त गरेका छन्। उनीहरूबीचको सहकार्यले व्यक्तिगत आरोहण उपलब्धिसँगै नेपाली साहस, मित्रता, सहकार्य र अन्तर्राष्ट्रिय पर्वतारोहणको नयाँ उदाहरण समेत प्रस्तुत गरेको छ।
जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले संगीतको माध्यमबाट विश्वका सातै महादेशमा अभियान सञ्चालन गर्न जुटेका ख्यातिप्राप्त गायक राजु लामासँग अविरल राईले किलिमनजारोको संयुक्त आरोहण गरेका हुन् । अविरल राई र राजु लामाको यो दोस्रो संयुक्त अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान हो। यसअघि उनीहरूले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस संयुक्त रूपमा सफल आरोहण गरेका थिए। सेभेन समिट्सकै यात्रामा रहेका गायक राजु लामाले किलिमनजारोको सफल आरोहणसँगै आफ्नो ‘सेभेन समिट्स’ यात्रामा चार महादेशका सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्। उनले हालसम्म एशियाको सगरमाथा, ओसिनियाको कार्स्टेन्स पिरामिड, युरोपको माउन्ट एल्ब्रस र अफ्रिकाको माउन्ट किलिमनजारो आरोहण गरेका छन्।
राई र लामाले आगामी दिनमा पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय पर्वतारोहण अभियानमा सहकार्यलाई निरन्तरता दिने योजना बनाएका छन्। विशेषगरी उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली अभियानमा समेत सँगै अघि बढ्ने योजना रहेको राईले बताएका छन्। किलिमनजारोको सफल आरोहणसँगै अबिरल राईको सेभेन समिट्स यात्रामा उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली मात्र बाँकी रहेको छ। अब उनको लक्ष्य स्पष्ट छ डेनालीको शिखरमा पुगेर सातै महादेशका सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने आफ्नो सेभेन समिट्स सपना पूरा गर्नु।
यो अभियान राईका लागि केवल व्यक्तिगत उपलब्धिको यात्रा होइन। यो नेपालको हिमाली पहिचान, नेपाली पर्वतारोहीको क्षमता, साहस र नेतृत्व तथा थुलुङ राई समुदायको गौरवसँग जोडिएको प्रेरणादायी यात्रा हो। सगरमाथादेखि एकोन्कागुआ, कार्स्टेन्स पिरामिड, भिन्सन, एल्ब्रस हुँदै किलिमनजारोसम्मको उनको यात्रा विश्वका विभिन्न महादेशका सर्वोच्च शिखरमा नेपाली झण्डा फहराउँदै अघि बढेको दृढता, समर्पण र निरन्तरताको कथा हो। यो उपलब्धिले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्याउनुका साथै नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई ठूला सपना देख्न, चुनौती स्वीकार गर्न र असम्भवजस्तो देखिने लक्ष्यलाई पनि दृढ संकल्पका साथ पछ्याउन प्रेरणा दिनेछ भन्ने उनको विश्वास छ ।










समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
मन्त्री श्रेष्ठका सल्लाहकारमा चार विज्ञ नियुक्त