कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरेसँगै वरिष्ठ लोकदोहोरी गायक तथा सांस्कृतिक अभियन्ता चन्द्र शर्माले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । दाङ जिल्ला क्षेत्र नं। २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्मा उम्मेदवारी दर्ताका लागि काठमाडौँ आएका हुन् ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी तथा सांस्कृतिक क्षेत्रमा सक्रिय शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्वअध्यक्षसमेत हुन् । प्रतिष्ठानको नेतृत्वमा रहँदा कलाकारको हकहित, लोकसंगीतको संरक्षण र नेपाली मौलिक संस्कृतिको प्रवर्द्धनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायबिच समेत लोकसंगीत र नेपाली संस्कृतिको प्रवर्द्धनमा उनको निरन्तर सहभागिता रहँदै आएको छ ।

कलाकारिताबाट स्थापित पहिचानलाई अब राजनीतिक तथा नीतिगत भूमिकासँग जोड्ने उद्देश्यसहित शर्माले केन्द्रीय सदस्यको उम्मेदवारी अघि सारेका हुन् । उनका अनुसार कला, संस्कृति, भाषा, साहित्य तथा गीत–सङ्गीत मनोरञ्जनका विषय मात्र नभई मुलुकको पहिचान र सामाजिक जीवनसँग जोडिएका महत्त्वपूर्ण क्षेत्र हुन् । त्यसैले यी विषयलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउन आवश्यक छ ।

दाङ क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरूबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि शर्माले आफूलाई विश्वास गर्ने प्रतिनिधि, अग्रज नेता, सभापति तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । उनले प्राप्त विश्वासलाई आफ्नो आगामी राजनीतिक भूमिकाको आधार बनाउँदै सांस्कृतिक क्षेत्रका मुद्दालाई पार्टीको केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर