
काठमाडौं । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार हो।
इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइनहरूसहित रकेट प्रहारको तयारी गरिरहेको फेला पारेपछि उक्त कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सले जनाएका छन्।
आईआरजीसीले आइतबारको उक्त आक्रमणमा आफ्ना केही मानिसहरूको मृत्यु हुनुका साथै केही घाइते भएको पुष्टि गर्दै ‘जवाफ र सजाय’ दिने चेतावनी दिएको छ। पछि इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। आक्रमणलगत्तै जोर्डनको सेनाले आफ्नो वायुमण्डल उल्लङ्घन गर्ने आठ वटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जनाएको छ।
अघिल्लो साता राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा इरानले राखेका सबै समुद्री माइनहरू हटाएको दाबी गरेका थिए। नयाँ माइन राख्ने जुनसुकै जहाज वा डुङ्गालाई नष्ट गरिने चेतावनी ट्रम्पले दिएका थिए। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको दाबीलाई ‘प्रचारबाजी’ को संज्ञा दिएका छन्। इरानले हाल ट्याङ्करहरूलाई उक्त टापु भएर जान बाध्य पारिरहेको र प्रति जहाज २० लाख डलर असुलिरहेको बताइएको छ।
आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भनेका छन्। इरानी मिडियाका अनुसार यस आक्रमणबाट दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।
जवाफमा इरानले जोर्डनको किङ हुसेन र अल-अज्राकस्थित अमेरिकी बेसहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछि सुरु भएको यो युद्ध छ महिना पूरा भइसकेको छ, जसका कारण विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने होर्मुज जलमार्ग ठप्प प्रायः बनेको छ।












समाचार
मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश घोषणा, बूक क्लोज कहिले ?
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा