ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । उनले बाढीपीडितका लागि नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएको चुनौती’ विषयक कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएका हुन् ।

बाढीपीडितका लागि निगमले २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको उल्लेख गर्दै उनले ग्यासको मूल्य बढाउँदा काठमाडौँ उपत्यकाका उपभोक्तामाथि मात्रै एक महिनामा ११ करोड ५९ लाख रुपैयाँभन्दा बढीको अतिरिक्त भार परेको बताए ।

‘ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा वृद्धि हुँदा काठमाडौँ उपत्यकामा मात्रै एक महिनामा ११ करोड ५९ लाख १८ हजार रुपैयाँको अतिरिक्त भार उपभोक्तामाथि परेको छ,’ उनले भने, ‘२५ लाखको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ? यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ।’

ग्यास दैनिक जीवनको आधारभूत आवश्यकतासँग जोडिएको भन्दै उनले मूल्यवृद्धिले विपन्नदेखि मध्यम वर्गसम्मका नागरिकलाई प्रत्यक्ष असर पारेको बताए । उपत्यकाबाहिरका उपभोक्ता पनि मूल्यवृद्धिबाट प्रभावित भए पनि सरकारको ध्यान काठमाडौंमा मात्रै केन्द्रित भएको उनको आरोप छ ।

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव अन्य वस्तु तथा सेवाको मूल्यमा समेत पर्ने भएकाले मूल्यवृद्धिको निर्णयमा पुनर्विचार गर्न उनले सरकारसँग माग गरे ।

कार्कीले बजार अनुगमन र दोषीमाथि कारबाही गर्ने सरकारी प्रक्रिया प्रभावकारी हुन नसकेको पनि बताए । चाडपर्वका समयमा मात्र बजार अनुगमन गर्ने प्रवृत्तिको अन्त्य गरी वर्षभरि नै नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले चाडपर्वलाई मात्र आधार बनायौँ, तर उपभोक्तालाई अन्य समयमा पनि उत्तिकै मार परिरहेको छ,’ उनले भने, ‘सरकारका सम्बन्धित निकायहरू अनुगमन र दोषीमाथि कारबाही गर्ने मामिलामा निकै कमजोर देखिएका छन्।’

ग्यासको आयात घटाउन विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा पनि सांसद कार्कीले जोड दिए । नेपालमा पर्याप्त विद्युत् उत्पादन भइरहेकाले इन्डक्सनलगायत विद्युतीय उपकरणको प्रयोगमा सरकारले सहुलियत तथा प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

यस्तै, ग्यास वितरण प्रणालीमा रहेका समस्याका कारण उपभोक्ताले थप आर्थिक भार व्यहोर्नुपरेको उनले उल्लेख गरे । फरक–फरक ब्रान्डका सिलिन्डरका कारण एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सट्टापट्टा गर्दा उपभोक्ताले ५ देखि ६ सय रुपैयाँसम्म अतिरिक्त खर्च गर्नुपरेको उनको भनाइ छ ।

विगतमा ग्यास अभाव हुँदा उपभोक्ताले एउटा सिलिन्डरका लागि ७ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको स्मरण गराउँदै कार्कीले ग्यास आपूर्ति र वितरण प्रणाली सुधारका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट