१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ग्यास नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकाले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सांसद तथा उपभोक्ता अधिकारकर्मीहरूले मूल्यवृद्धिको चर्को विरोध गरिरहेका बेला कार्यकारी निर्देशक साहले मासुको मूल्यसँग ग्यासको तुलना गरेका हुन् । ‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ,’ मूल्यको तुलना गर्दै साहले भने, ‘तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ?’

२१ सय रुपैयाँ मूल्य हुनु ठूलो कुरा नभएको भन्दै उनले मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने रहेको र यो सबैको साझा दायित्व भएको बताए । हाल निगमले प्रतिसिलिन्डर ४ सय रुपैयाँ घाटा सहेर ग्यासको कारोबार गरिरहेको साहले जानकारी दिए। व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको प्रसंग उल्लेख गर्दै उनले उपभोक्ताले मूल्य महँगो भयो भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने तर्क गरे। रसुवा बाढी र पहिरोका कारण अहिले आपूर्ति प्रणालीमा चुनौती थपिएको भए पनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको साहले स्पष्ट पारे।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट