
तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।
वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ । पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर सहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएका छन् ।
म्याङलुङ नगरपालिका–६ मेक्चानाका ५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन् । श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताए । लगानी र आफ्नो मिहेनेत काटेर वार्षिक रु ११ लाख बच्ने गरेको उनले सुनाए । ‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिक रूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गर्दै आएका छन् ।
उनले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दै आएका छन् । उनले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताए । यसमा काक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् । करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका हुने । उनी मौसमी र बेमौसमी दुवै किसिमको तरकारीखेती गर्छन् । उनको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उनले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानीमात्र लगाइयो भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताए । “यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा १० क्विन्टल जति निस्किन्छ”, आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भने ।
तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहेका कृष्णकुमारले गत वर्ष रु २५ लाख आम्दानी भएको बताए । विसं २०६९ मा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेतीमात्र लगाएका उनले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिएका छन् ।
यो याममा हालसम्ममा १ हजार २०० किलो अकबरे खुर्सानी बेचिसकेको उनले सुनाए । उनले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताए । वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताए । नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आएका छन् । कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् । अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताए ।
श्रेष्ठद्वयले मल्चिङ प्लाष्टिकको प्रयोग गरेर तरकारीखेती गर्दै आएका छन् । मल्चिङ प्लाष्टिकको प्रयोगले लागत घटाउने उनीहरूको अनुभव छ । बेमौसमी तरकारीका लागि भने टनेलको प्रयोग गर्नुपर्ने उनीहरुले बताए । पशुपालन तथा तरकारीखेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उनीहरुले सुनाए । यो क्षेत्रकै अगुवा किसानका रूपमा श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका, घरेलु तथा सानो उद्योग कार्यालयले समेत अनुदान, उपकरण र तालिमलगायतका सहयोग प्रदान गर्दैआएको छ ।
तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा तरकारी बालीमा नमूना फार्म स्थापनाका लागि रु तीन–तीन लाख अनुदान प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताए । उनका अनुसार कृषि ज्ञान केन्द्रको धनकुटा तेह्रथुम कार्यक्षेत्र रहेका बेलामा समेत धनकुटाबाट पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनीहरूको तरकारी बालीको ब्लक विकास सञ्चालन गरिएको थियो । कृष्णकुमार र तिलबहादुरको लामो समयदेखि जिल्लामा ताजा तरकारी उत्पादनमा योगदान रहेकाले उनीहरुले तत्कालीन कृषि विकास कार्यालयमार्फत पनि विभिन्न अनुदान प्रदान गरिएको देखिएको प्रमुख राईले बताए ।
परम्परागत कृषिखेती गरिरहनुभएका श्रेष्ठद्वयले २०५८ सालमा खोलाखेत बाढीले बगाएपछि तत्कालीन गाउँ विकास समितिबाट राहतमा पाएको काक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका थिए । एउटा गरा बारीबाट सुरु भएको उनीहरुको तरकारीखेती थुप्रै रोपनीमा विस्तार भई लाखौँ आम्दानी दिन सफल हुँदा तिलबहादुर र कृष्णकुमार खुसी देखिन्छन्। पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बन्नुभएका उनीहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गरे ।












समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव