निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रमैत्री वातावरण आवश्यक भएकोमा जोड दिए ।

निजी क्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रणको सोचले लगानी निरुत्साहित हुने भन्दै उनले सरकार नियामक र सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताए । लामो समयदेखि बन्द उद्योग सञ्चालनका लागि सरकारले चाहे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सक्ने उनको सुझाव थियो । अध्यक्ष श्रेष्ठले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न नेपालले उपलब्ध जनसांख्यिकीय लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

हतारमा कानुन निर्माण गर्ने प्रवृत्तिले निजी क्षेत्रलाई समस्या पारिरहेको उल्लेख गर्दै उनले कानुन तथा नीति निर्माणमा निजी क्षेत्रसँग पर्याप्त छलफल र समय दिनुपर्ने बताए । यस्तै उनले महासंघले एकिकृत कर कानूनका लागि कर संहिताका लागि पहल गरिरहेको र उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा तयार गरी छिट्टै सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले पछिल्लो समय मुलुकले हरेक वर्ष कुनै न कुनै विषम प्राकृतिक परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै अब फरक सोचका साथ अघि बढ्नुपर्ने समय आएको बताए । “बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको छ । यो अवस्थामा हाम्रा पूर्वाधारहरु निर्माण गर्दा दीर्घकालसम्म सोच्नु पर्ने समय आएको छ । अर्कोतर्फ उद्धार र राहतसँगै प्रभावित परिवार तथा उद्योग–व्यवसायको पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिनुपर्ने अवस्था छ । उनले भने, विपद्का बेला उद्धार सरकारले गर्ने हो, साथ निजी क्षेत्रको रहन्छ ।”

महासंघले विपद्मा परेका उद्योगी–व्यवसायीको पुनःउत्थानका लागि सरकारसँग पहल गर्नुका साथै अन्तर्राष्ट्रिय साझेदार र विभिन्न देशका करिब ७० वटा चेम्बरलाई सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।

प्राकृतिक विपद्ले नेपाललाई दीर्घकालीन रूपमा सुरक्षित पूर्वाधार निर्माणबारे सोच्न बाध्य बनाएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले जलवायु उत्थानशील पूर्वाधारमा जोड दिनुपर्ने बताए । हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि चीनसँग सहकार्य गर्दै सुरक्षित बस्ती र पूर्वाधार निर्माणबारे सोच्नुपर्ने तथा जलविद्युत् आयोजना निर्माणमा समेत वातावरणीय जोखिमलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेपालले जलवायु परिवर्तनको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले यसको क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा आवाज उठाउनुपर्ने बताए ।

नेपाल चीन बीचका दुई प्रमुख नाकामा अवरोध देखिएको अवस्थामा कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयमा महासंघले पहल गरिरहेको जानकारी दिँदै उनले यस विषयमा चिनियाँ राजदूतसँग समेत छलफल भएको र भौगोलिक अवस्थितीका कारण प्राविधिक सम्भाव्यतासहित अध्ययन गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

अध्यक्ष श्रेष्ठले सेवा सुदृढीकरण तथा विस्तार, आर्थिक विकास तथा पुनःउत्थान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राख्दै महासंघले ६ स्तम्भ र ६० पहलमार्फत निजी क्षेत्रको क्षमता विस्तार र आर्थिक रूपान्तरणमा काम गरिरहेको जानकारी दिए । उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै निर्यात विस्तार गर्न तथा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

यस्तै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकार र निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने उल्लेख गर्दै यस विषयमा महासंघले पर्यटन मन्त्री सहित सरोकारवाला निकायसंग छलफलको तयारीमा रहेको जानकारी दिए । यस्तै उनले भारतीय पर्यटकलाई लक्षित गरी पर्यटन पूर्वाधार र सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट