
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताए ।
विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाले बाढीबाट निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति श्रृंखला, यातायात तथा व्यापारमा परेको असरका साथै उद्योग, पर्यटन र साना तथा मझौला उद्यममा परेको प्रभावबारे जानकारी लिएका थिए ।
उनले बाढीबाट भएको क्षतिको यथार्थ विवरण, व्यावसायिक क्षेत्रमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्य तथा विवरण आवश्यक रहेको उल्लेख गर्दै प्राप्त हुने क्षतिको विस्तृत विवरण र त्यसले आर्थिक गतिविधिमा पारेको प्रभावको विश्लेषणपछि मात्रै बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे स्पष्ट निष्कर्षमा पुग्न सकिने उनको धारणा थियो ।
छलफलका क्रममा विश्व बैंकका प्रतिनिधिहरूले विपद्का कारण निजी क्षेत्र तथा आम नागरिकले भोग्नुपरेको कठिनाइप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक गतिविधिको पुनरुत्थानका लागि आवश्यक सहयोग र सहकार्यका विषयमा समेत चासो व्यक्त गरेका थिए ।
अध्यक्ष श्रेष्ठले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो क्षति भएको तथा जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यवसायिक सम्पत्तिमा गम्भीर असर परेको जानकारी दिए । उनले निजी क्षेत्रका लागि भौतिक संरचनाको क्षतिसँगै आपूर्ति शृङ्खला, यातायात, विद्युत्, बजार पहुँच तथा व्यापारमा आएको अवरोध ठूलो चुनौती बनेको बताए ।
विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार तथा देशभरको आपूर्ति व्यवस्थामा असर पार्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । यसबाट प्रभावित क्षेत्रबाहिर रहेका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्ता समेत प्रभावित हुन सक्ने उनले उल्लेख गरे ।
साथै सो अवसरमा नेपाल विकास अपडेट–२०२६ का विषयमा छलफल भएको थियो । विश्व बैंकका प्रतिनिधिहरूले निजी क्षेत्रको अनुभव र प्रत्यक्ष तथ्यांक नेपाल विकास अपडेटका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायिक क्षेत्रबाट प्राप्त विवरण र सुझावलाई अध्ययनमा समेट्ने बताएका थिए ।
अध्यक्ष श्रेष्ठले नेपाल विकास अपडेट–२०२६ मा बाढीबाट भएको भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण तथा निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत अध्ययन गर्न आग्रह गरे ।












समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
नेपालको अपराजित यात्रामा पूर्णविराम, हङकङसँग १५ रनले पराजित
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र