
ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति, प्रयोगशाला तथा स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा आवश्यकताअनुसार बिरामीको घरसम्म पुर्याइनेछ ।
‘किष्ट एट होम’ किष्ट शिक्षण अस्पतालकै एकीकृत स्वास्थ्य सेवा इकाइका रूपमा सञ्चालन हुनेछ । उपचारअघि, उपचारका क्रममा र उपचारपछि पनि बिरामीलाई निरन्तर स्वास्थ्य सेवासँग जोडिराख्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । सेवाअन्तर्गत घरमै नर्सिङ सेवा, चिकित्सकको घरमै भेट, फिजियोथेरापी, ज्येष्ठ नागरिकको हेरचाह, शल्यक्रियापछि आवश्यक हेरचाह, घरमै रगत तथा अन्य नमुना संकलन, दीर्घरोग व्यवस्थापन, जीवनको अन्तिम चरणका बिरामीको हेरचाह, खोप, हेरचाहकर्तासम्बन्धी सेवा, दूरचिकित्सा तथा स्वास्थ्य परीक्षणपछिको परामर्श उपलब्ध हुनेछ ।
त्यस्तै, आवश्यकताअनुसार चिकित्सकीय उपकरण भाडामा उपलब्ध गराउने, घरमै सघन उपचार तथा गम्भीर बिरामीको हेरचाह र बिरामी ओसारपसारको सेवासमेत सञ्चालन गरिनेछ । ‘किष्ट एट होम’ अन्तर्गत अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवा पनि उपलब्ध हुनेछ । आकस्मिक अवस्थामा बिरामीको अवस्थाअनुसार एम्बुलेन्स तथा बिरामी ओसारपसार सेवामार्फत अस्पतालसम्म ल्याउने व्यवस्था गरिनेछ । घरमै उपचाररत बिरामीलाई थप उपचार आवश्यक परे अस्पतालको सेवासँग सहज रूपमा जोडिने व्यवस्था पनि हुनेछ ।
अस्पतालका अनुसार घरमै स्वास्थ्य सेवा लिए पनि बिरामी किष्ट शिक्षण अस्पतालको स्वास्थ्य सेवा सञ्जालबाट अलग हुने छैनन् । आवश्यकताअनुसार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मी परिचालन गर्न सकिनेछ ।
घरमै संकलन गरिएका रगत तथा अन्य नमुना किष्ट शिक्षण अस्पतालको प्रयोगशालामा परीक्षण गरी त्यसको प्रतिवेदन उपलब्ध गराइनेछ । बिरामीको स्वास्थ्यसम्बन्धी विवरण अस्पतालको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमार्फत व्यवस्थित गरिने र स्वास्थ्य विवरणको गोपनीयता कायम गरिने अस्पतालले जनाएको छ । किष्ट शिक्षण अस्पताल र हेल्थ एट होम नेपालको सहकार्यमा सञ्चालन हुन लागेको यो सेवाले अस्पतालमा आधारित उपचारलाई घरमै उपलब्ध हुने स्वास्थ्य सेवासँग जोड्ने अपेक्षा गरिएको छ ।
विशेषगरी शल्यक्रियापछि घरमै स्वास्थ्य निगरानी आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, फिजियोथेरापी आवश्यक पर्ने तथा जीवनको अन्तिम चरणमा रहेका बिरामीलाई यस सेवाबाट सहज हुने अपेक्षा गरिएको छ । ‘किष्ट एट होम’को मूल उद्देश्य अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको घरसम्म पुर्याउनु रहेको अस्पतालले जनाएको छ ।










समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी