सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। गाँजा ओसारपसारमा प्रयोग भएको ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा लोड गरी ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालक एम्बुलेन्स छाडेर फरार भएका छन्।

प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा जुटका बोरामा राखिएको १०५ किलो लागूऔषध गाँजा बरामद भएको जनाएको छ। बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिएका छन्। नियन्त्रणमा लिइएको एम्बुलेन्स कसको हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ। गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर