सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य

काठमाडौं । सरकारले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि परिचयपत्रको अनिवार्य गरेको छ । ग्राहकले खरिद गरेको सुनचाँदी तथा यसका गरगहना बिक्री गर्दा अनिवार्य रुपमा आफनो परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य गरेको हो ।

आन्तरिक राजस्व विभागले ‘सिप प्रवद्र्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सो व्यवस्था गरेको हो । साउन १ गते देखि लागु भएको सो व्यवस्था अनुरुप सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी तथा सुनचाँदीका गरगहना बिक्री गर्दा बिक्रेताको परिचय खुल्ने नागरिकता वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको अन्य कुनै परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो । सुन, चाँदी तथा सुनचाँदीका गरगहना बिक्री गर्दा सर्वसाधारणले त्यस्तो वस्तु खरिद गरेको प्रमाणसमेत पेश गर्नुपर्नेछ र विदेशबाट ल्याएको सुनचाँदी भएमा सोको प्रमाण पेश गर्नुपर्नेछ । यसैगरी ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई नयाँ गरगहना बिक्री गर्दा पुरानो गरगहनाको तौल बराबरको मूल्यमानसम्मको गरगहना बिक्री गरेमा सीप प्रवद्र्धन शुल्क लाग्ने छैन। तर पुरानो तौलमा थप गरी गरगहना बिक्री गरेमा थप भएजति सुनचाँदीको मूल्य तथा सम्पूर्ण ज्यालामा सीप प्रवद्र्धन शुल्क असुल गर्नुपर्ने बताइएको छ ।

त्यस्तै सुनचाँदी बिक्री, कारोबारको लेखाङ्कन तथा विवरण दाखिला गर्नुपर्नेछ । व्यावसायिक प्रयोजनका लागि व्यवसाय भएको स्थानबाट गरगहना निर्माण गर्ने प्रयोजनका लागि कालीगढकोमा तथा त्यस्तो कालीगढकोबाट व्यवसाय भएको स्थानमा सुन, चाँदी तथा सुनचाँदीका गरगहना वा वस्तु ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तथा चलान साथमा लिएर मात्र ओसारपसार गर्नुपर्ने हुनेछ । यसरी गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

त्यसैगरी कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुअल) आधारमा गर्नुपर्नेछ । साथै कारोबारको मासिक विवरण अर्को महिनाको २५ गतेभित्र महिनामा कारोबार गरेको वा नगरेको जे भए तापनि सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ । यदिन तोकिएको समयभित्र विवरण पेश नगरेमा ऐनको अनुसूची–६ को दफा ७ बमोजिम लाग्ने सीप प्रवद्र्धन शुल्क रकमको प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतले हुने रकम वा प्रतिविवरण एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, सो रकम थप शुल्क लाग्ने छ ।

त्यस्तै सो कार्यविधि अनुरुप शुल्क निर्धारणको हकमा भने विक्रेताको कारोबारको परीक्षण गर्दा सीप प्रवद्र्धन शुल्क छली भएको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्नेछ। कार्यालयबाट कारोबारको परीक्षण गर्दा कुनै विक्रेताले शुल्क असुल नगरेमा वा बिक्री कारोबारलाई खण्डीकरण गरेमा वा वास्तविक कारोबारभन्दा घटी कारोबार घोषणा गरी न्यून शुल्क असुल गरेको पाइएमा वा कुनै पनि कारणबाट शुल्क छली गरेको पाइएमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। कारोबार रकम घटी घोषणा गरी, शुल्क असुल नगरी, कारोबारको खण्डीकरण गरी वा कारोबार लुकाईछिपाई शुल्क दायित्व घटाएको भन्ने सूचना तथा प्रमाण प्राप्त भएमा कर अधिकृतले त्यस्तो प्राप्त सूचना तथा प्रमाणको आधारमा प्रारम्भिक शुल्क निर्धारणको लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट