
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा हदम्याद सम्बन्धी प्रावधान हटाउन गृहमन्त्री रमेश लेखकले राखेको प्रस्तावमा समितिका सबै सदस्यले सहमति जनाएपछि सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयकबाट सो प्रावधान हटाउने प्रस्ताव सरकार आफैँले गरेकाले सो प्रस्ताव सर्वसम्मत रूपमा समितिबाट पारित भएको समिति सभापति रामहरि खतिवडाले घोषणा गरे । ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको दफा १६ हटाउने सरकारको प्रस्ताव सर्वसम्मत रूपमा हटाउने निर्णय गर्न समितिलाई अनुरोध गर्दछु । समर्थन गर्न पनि आग्रह गर्दछु । यो प्रस्ताव पारित भएको घोषणा गर्दछु । आगामी दिनमा हामी यसैगरी व्यापक रूपमा छलफल गरेर सबै विषयमा समिति भित्रै बसेर टुङ्गो लगाउनेछौँ,’ उनले भने ।
बैठकमा गृहमन्त्री लेखकले सो विधेयकमाथि सांसद, सदन र आम नागरिक र बुद्धिजीवीले पनि हदम्याद हटाउने कुरा गरेकाले भ्रष्टाचारका विषयमा जहिले पनि मुद्दा चल्ने कुरालाई सुनिश्चित हुनेगरी म्यादको प्रावधान विधेयकबाट हटाउनुपर्ने प्रस्ताव गरेका थिए । उनले सरकार भ्रष्टाचार सम्बन्धी मुद्दालाई कुनै पनि बेला उठाउन सक्ने पुरानै व्यवस्थाको पक्षमा रहेको पनि बताए ।
सत्तारुढ काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको मुद्दा चलाउने विषयमा हदम्याद नराख्ने प्रस्ताव सरकार आफैँले गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भ्रष्टाचारको मुद्दा चलेपछि त्यसको टुङ्गो लगाउने विषयमा पनि सीमा तोक्ने गरी कानुन बनाउनुपर्ने आवश्यकता रहेको बताए । एमालेका सांसद रघुजी पन्तले गृहमन्त्री लेखकले संसद् र जनताको भावना कदर हुनेगरी भ्रष्टाचारको हदम्याद सम्बन्धी प्रस्ताव ल्याएकाले त्यसमा आफूहरूको सहमति रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले पनि भ्रष्टाचार सम्बन्धी हदम्याद हटाउने गृहमन्त्री लेखकको प्रस्तावमा सहमति जनाएका थिए ।













समाचार
जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
आजको मौसम : तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि विदेशी मुद्राको सटहीदर : कुन देशको विनियमदर कति ?
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता