
चितवन । संखुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरु संखुवासभाबाट चितवन आएका हुन् ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गरेको सुनाए । ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी संघ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ,’ मनकलाले भनिन् ।
संखुवासभाको सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले संखुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्दै आएकी थिइन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल समेत भएकी छिन् । ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले,’ उनले भनिन् ।
पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आएकी थिइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरुको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे ।
सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउछिन् । ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ,’ उनले भनिन् ।
अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।
कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन,’ मनकलालो सुनाइन् ।
कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् ।
देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको बताउँछन् । ‘सबै योजना उनकै (मनकला) हो । मैले सहयोग मात्रै गछु,’ उलने भने । उद्योगबाट ठूलो सपना नबोकका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरुका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छिन् भने छोरा विद्यालयस्तरमा अध्ययन गरिरहेका छन् ।
चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ,’ देवेन्द्रले भने । ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन् । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।











समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ