
इलाम । वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ । आकासे वर्षा नभएको दुई/चार दिन हुँदा इलामको अन्तुका लागि भने पर्यटकीय याम सुरु भएको छ । तराईको गर्मी उस्तै हुँदा अहिले अन्तुको चिसोमा रमाउनेहरू खचाखच हुन थालेका छन् ।
अझ भारतीय नागरिक अन्तु आएर निकै रमाउने गरेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ । अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् । मौसम खुलेपछि बिहानको सूर्योदय हेर्न रमाउनेको संख्या उस्तै हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए । ‘यो वर्ष पनि दैनिक आउने पर्यटकको संख्या निकै बढेको छ । यहाँका होमस्टे, होटेल र कटेज बुकिङ हुन थालेका छन् । यस वर्ष फेसबुक, ट्विटर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालका कारण आउने पर्यटक यहाँ पुग्ने गरेका छन्’, उनले भने । अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट ठुलो सङ्ख्यामा भारतीय आएका छन् ।
झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताए । ‘सूर्योदय देखिने समय सुरु हुनै लागेको छ । चिया टिपाइको समय पनि बाँकी नै छ । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ । अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण भएको छ,’ घिमिरेले भने । त्यसो त चिया बारीबिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ । सूर्योदयको दृश्यावलोकनका लागि सूर्योदय नगरपालिकाले टिकट लिने गरेको छ ।
प्रतिव्यक्ति ५० रुपियाँ लाग्ने गरेको त्यहाँका कर्मचारी दीपेन पुलामीमगरले बताए । मगरका अनुसार चालु आव सुरु भएयता अन्तुमा करिब आठ हजार पर्यटक भित्रिएका छन् । गत आवमा भने करिब एक लाख पर्यटकले अन्तु भ्रमण गरेको पुलामी बताए । सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिवीटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु पुग्न सकिन्छ । यहाँ ६५ वटा सामुदायिक होमस्टे र होटेल तथा कटेज ८३ वटा रहेको श्रीअन्तु पर्यटन व्यवसायी संघले जनाएको छ ।













समाचार
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक
इजिपी प्रणाली बन्द भएकोमा नेकपाको आपत्ति, निष्पक्ष छानबिनको माग
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन
चेम्बरका अध्यक्ष अग्रवालले भेटे एडीबीका शिक्षा विशेषज्ञ
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ