
काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो ।
नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।
नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । गत जुलाईमा त्रिपक्षीय सम्झौता हुने गरी दिन नै तय भए पनि बंगलादेशमा राजनीतिक प्रदर्शनहरू भएपछि त्यो सरेको थियो ।
यो सम्झौता दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको कुलमान कार्यकारी निर्देशक घिसिङले बताए । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।












समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै