
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताए । ‘तपाईंहरुको सेवा तुलनात्मक रुपमा राम्रो छ, तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने ।
मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे । ‘तपाईंहरुले अनलाइनमार्फत सेवा थाल्नुभएको छ, उनले भने, तर यो धेरै नागरिकले थाहा पाउने गरी हुुनुपर्यो । र, अझ सहज हुने गरी हुनुपर्यो ।’
मन्त्री पौडेलले अस्पताललाई अब विशिष्टिकृत बिरामीहरुको पनि उपचार हुने गरी सेवा विस्तार गर्न सुझाव दिए ।
आफू अस्पताललाई के चाहिएको छ भनेर बुझ्न पनि आएको भन्दै मन्त्री पौडेलले सेवालाई प्रभावकारी बनाउन चाहिने कुरामा सघाउन मन्त्रालय तयार रहेको बताए । अस्पताल अवलोकनका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति डा. राजेश गंगोलले आफ्नै श्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गरिएको भन्दै अस्पतालको नयाँ भवनका लागि स्रोत खोजिदिन आग्रह गरेका थिए ।
मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘यसवर्षको बजेट आइसकेकाले श्रोत नभए पनि अरु विकल्प वा वैदेशिक सहायताका लागि भए पनि भवनको श्रोत जुटाउन मेरो पहल हुनेछ,’ मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिंदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए । प्रतिष्ठानका रजिष्ट्रार डाक्टर पारसकुमार आचार्यले दैनिक १५ सय हाराहारीमा ओपीडी बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम