
इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।
सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गरे । ‘प्रतिमन रु दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुर्याउँदा पाँच मनजति सकियो’, पराजुलीले भने । गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई–१७२ जातको दुई सय ग्राम बीउ रोपण गर्नुभएका पराजुलीले रु एक लाख २५ हजारको प्याज बिक्री गरे । ‘जम्मा रु ३२ हजार खर्च कटाएर खुद रु ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ’, उनले भने, ‘लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाहिँ बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।’
जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्यांक छ । आर्थिक वर्ष २०७९+८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०÷८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिए । सन्दकपुर–३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका–३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाएका छन् । ‘रु ७० प्रतिकिलोका दरले बिक्री गरेँ । बाँदरले अन्य खेती र तरकारीसमेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो’, सुवेदीले भने, ‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुनेरहेछ ।’
प्याजको राम्रो उत्पादनका लागि ६० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि प्राविधिक प्रभु शाहले बताए । ‘प्याजको वृद्धि विकासका लागि १३ देखि २५ डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक हुन्छ, पानी नजम्ने र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ, माटोमा पिएच ५ दशमलव ८ देखि ६ दशमलव ५ हुनुपर्दछ’, शाहले भने ।
सूर्योदयका अगुवा किसान मदन राईले प्याज रोप्नुअघि जमिनको तयारी राम्रो गर्नुपर्ने अनुभव सुनाए । ‘खनजोत गहिरो, डल्ला फुटाउने, झार जिलाउने, माटो मसिनो र बुरबुराउँदो बनाउनुपर्ने रहेछ । राम्ररी पाकेको गोेबर मलको प्रयोग राम्रो हुँदोरहेछ, एक दिन अगाडि नै बीउलाई पानीमा भिजाएर उमार्नुपर्छ । नर्सरीमा राम्रोसँग उम्रेका बिरुवा ८–१० हप्तामा रोप्नलायक हुन्छन्’, उनले भने ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू