
चितवन । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा ६ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।
केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । ‘जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्रीवितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको सङ्ख्या बढ्दो छ,’ उनले भने । निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपारसी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, कास्की र कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उनले बताए ।
गत वर्ष केन्द्रले चारदेखि सात दिनका माछाका भुरा सात करोड, एक महिनाका भुरा एक करोड दुईदेखि तीन महिनामा छ लाख बिक्री गरेको थियो । अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्री हुने उनले बताए । नैनी र रघु जातका चारदेखि सातदिने भुरालाई एक लाखको रु दुई हजारमा र अन्य प्रजातिलाई रु दुई हजार पाँच सयमा बिक्री गर्दै आइएको दाहालले बताए । एक महिनाका माछाका भुरालाई रु २५ पैसा र दुईदेखि तीन महिनाका भुरालाई ७५ पैसा प्रतिगोटामा बिक्री गरिएको छ ।
केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनी, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरेर बिक्री गर्दै आएको छ । माछाका भुरा वर्षभरि नै बिक्रीवितरण गरिने गरेको दाहालले बताए । ‘हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्रीवितरण गर्ने गरेका छौँ,’ उनले भने । विसं २०२६ मा खाने माछा बिक्रीवितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्रीवितरण गर्न थालेको हो ।
अहिले माछाका भुराको माग बढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताए ।
उनका अनुसार केन्द्रले भुराको मागअनुसार लक्ष्य बढाउँदै लगेको छ । लक्ष्य बढाउनुपर्ने तर दक्ष कामदारको अभावमा सीमित कामदारबाट काम लगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्नसके माछाको आयात कम हुने उनले जानकारी दिए । केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रीवितरणबाट मात्रै रु ७६ लाख राजस्व संकलन गरेको थियो । अहिले भुराको मागअनुसार राजस्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह