
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।
‘बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्’ बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, ‘बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।’ गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।
प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । ‘दानाभित्र औसा परेर सुन्तला झरेको छ’, उनले भने, ‘सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हौं । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।’
बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैंचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् ।
दुई सय बोटको बगैंचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।
धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैंचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए। जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए ।
केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम