काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आज (मङ्सिर १९ गतेदेखि) पहिलो चरणको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्दा बाँकी रहेको खण्डमा बाँकी रहेको आईपीओ समेत जोडी सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी हुनेछ ।
पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।