
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर, पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ । बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिक रूपमा भएको छ ।
ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ विसं २०६६ मा सडकले जोडिएको थियो । त्यसभन्दा अगाडिसम्म यहाँ अधिकांश नागरिकहरूले घोडा, खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे । गाउँमा सडक पुगेको थिएन । जसले गर्दा स्थानीयको जनजीवन कष्टकर नै थियो । घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्छन् ।
कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवनशैली अहिले बदलिएको छ । १५ वर्ष अगाडि बोबाङ गाउँमा सडक पुगे पनि लामो समयसम्म यातायात सञ्चालन हुन सकेको थिएन । पछिल्लो समय कच्ची सडक भए पनि दैनिक यातायात सञ्चालन हुने गर्छन् ।
सडकले गाउँसँगै यहाँका हजारौँ नागरिकको जीवनशैली बदली दिएको स्थानीय ७६ वर्षीय तमबहादुर कायतले बताए । आफूले बोबाङ गाउँ यसरी परिवर्तन होला भन्ने कल्पना नगरेको उनको भनाइ छ । कायतले सडकले गाउँमा ठूलो परिवर्तन लिएको बताए । उनले भने, ‘हामी त गाईभैंसी र खेतीपाती गरेर जीवन धान्यौं, अहिलेको जस्तो सडक थिएन, गाडी चल्दैनथे, नुन, तेल र चामल ल्याउनका लागि बुटवल पुग्नुपर्थ्यो, बुटवल पुग्न १२ दिन लाग्थ्यो, अहिले घरमै सबैथोक आउँछ, उति बेला पढ्ने चलन थिएन, अहिले त गाउँमा हाई स्कुल बनेको छ, बसै बालबालिकाले पढ्न पाएका छन्, हामीहरू त न पढ्न पायौँ, न बिमार लाग्दा उपचार पायौँ ।’
स्थानीय कुलबहादुर सुनारले सडकले बोबाङ गाउँलाई बजारसँग सिधा जोड्दा विकासले गति लिएको बताए । पहिले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर दिनभर लगाएर अस्पताल पु¥याएको स्मरण गर्दै अहिले टोलमै स्वास्थ्य संस्था सञ्चालनमा आएको उनको भनाइ छ । ढोरपाटन जाँदाआउँदा घोडामा चढ्नुपर्ने बाध्यता हटेको भन्दै अहिले दैनिक गाडी चल्दा आलु, स्याउ, सिमी र अन्य उत्पादन बजारमा पुर्याउन सहज भएको सुनार बताए ।
राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बीचमा पर्ने बोबाङ गाउँमा पछिल्लो समय धमाधम पक्की घर भवनसमेत बन्दै गएका छन् । जिल्लाको सुदूरपश्चिम मानिने यस गाउँमा सडक आएपछि नागरिकको जीवनस्तरसमेत फेरिएको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । अब यहाँका नागरिकलाई आयआर्जनसँग जोड्ने खालको कार्यक्रम ल्याउने र आत्मनिभर बनाउनतर्फ लाग्ने कायत बताए। पहिले विकट भनेर कर्मचारीसमेत आउन नमान्ने ठाउँमा अहिले धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट