
बागलुङ । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको संख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसंख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । ‘गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,’ उनले भने, ‘कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्यो ।’
काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौं र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । ‘हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ,’ उनले भने ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना