काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा कमाएको हो ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । गत आवमा १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकको चालु आवमा १६.११ प्रतिशतले घटेर ९१ करोड १३ लाख रुपैयाँमा झरेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवमा बैंकको यस्तो आम्दानी २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ मात्रै थियो । बैंकको कुल सञ्चालन आम्दानी पनि १३.४१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । जुन गत आवमा ३ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.९६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ ।
चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १५ करोड ८१ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको ग्राहकमा कर्जा प्रवाह १ खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ छ भने निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।